बूढानिलकण्ठमा ओलीको विकल्प खोजिँदै, माधव नेपाललाई पनि बोलाइयो


काठमाडौं – संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठनको दावी गर्न भनेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पहल थालेका छन्।

देउवाले ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग आजैबाट परामर्श थालेका हुन्। देउवा निवास बुढानिलकण्ठमा कांग्रेस–माओवादी र जसपा तथा एमालेका माधव–झलनाथ समूहबीच छलफल हुन लागेको छ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार नै वैकल्पिक सरकार गठनको आह्वान गरेको अवस्थामा माधव कुमार नेपाललाई समेत बोलाइएको छ। नयाँ सत्ता समीकरणमा एमालेको भूमिका महत्वपूर्ण रहेकाले माधव पक्षलाई बैठकमा बोलाइएको हो।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिँदा संसदमा उपस्थित नभएको माधव नेपाल समूहको निर्णय नै नयाँ सरकार गठनका लागि महत्वपुर्ण हुने भएकाले बैठकमा छलफलको लागि बोलाइएको काँग्रेसका एक नेताले जानकारी दिए।

कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादवसँगै विश्वासको मत दिन अनुपस्थित एमालेका २८ सांसदको निर्णयले नयाँ सरकार बन्न सक्छ। त्यस्तै राजीनमा दिएको अवस्थामा र पार्टीले ह्वीप नमानेको भन्दै कारबाही गरेको अवस्थामा पनि सहजै विपक्षीको सरकार बन्नेछ। त्यसैले छलफलको लागि माधव नेपाललाई बोलाइएको स्रोतको दावी छ।

राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्म प्रधानमन्त्रीको दावी पेश गर्न दिएको समयसीमाभित्र बहुमत दावी गर्ने तयारी देउवा र प्रचण्डको छ। जसपाको महन्थ ठाकुर पक्षले वैकल्पिक सरकारको दिशामा नजाने बताइसकेको छ।

माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा संसदको विद्यमान गणितभित्रबाट ओली विरोधी गठबन्धनले बहुमत जुटाउन गाह्रो देखिन्छ।

प्रतिक्रिया