

अदालतमा नै पेश नगरेर सहकारीको बचत हिनामिना अभियोगमा पक्राउ परेका पत्रकार छुटे

काठमाडौं – दाङको राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका पत्रकार ओम प्रकाश गुप्ता धरौटीमा छुटेका छन्।
पक्राउ परेका गुप्तासहित ७ जनालाई शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले वडाध्यक्षको रोहबरमा जनही १/१ लाख धरौटी बुझाएर छोडेको हो। गुप्ता पत्रकार महासंघ दाङका सदस्य हुन्।
जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी अनुसन्धान टोलीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा नै पेश नगरेर पक्राउ परेका गुप्तासहित ७ जनालाई धरौटीलाई छोडिएको थियो।
प्रहरी अनुसन्धानकै क्रममा रहेकाले उक्त मुद्दा किनारा नलाग्दासम्म उपस्थिति हुनेगरी सरकारी वकिल कार्यालयले धरौटीमा छोड्न भने बमोजिम उनीहरु १० दिन प्रहरी हिरासतमा बसेर छुटेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गुप्ता सो सहकारी संस्थाको सचिव हुन्। सहकारी संस्थामा आबद्ध बचतकर्ताहरुले आफ्नो बचत रकम हिनामिना गरेको आरोप लगाई प्रहरीमा उजुरी दिएका थिए।
यसअघि सहकारीको रकम हिनामीना काण्डमा सहकारी संस्थाका ऋण समितिका संयोजक समेत रहेका सन्तोषकुमार गुप्ता पक्राउ परि केहि बर्ष कारागार बसेर छुटेका थिए। रकम हिनामिनामा पक्राउ पर्ने दुवै दाजुभाइ हुन्।
सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताहरुको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी आएपछि पत्रकार ओम प्रकाश गुप्ता पक्राउ परेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए।
६६ लाख भन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको हो।

