

सफल होला प्रचण्ड प्रयोग?
माधव नेपालको काँधमा बसेर ओली सत्ता गिराउने माओवादी खेल असफल पार्न राष्ट्रपति भण्डारी सक्रिय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गिराउन उनकै दल एमालेका नेता माधवकुमार नेपालको प्रयोगमा सक्रिय भएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असफल हुने संकेत देखा परेको छ।
२७ वैशाखमा ओलीले विश्वासको मत लिने भएपछि नेपाललगायतका ओलीइतरका सांसदलाई राजीनामा गराई ओलीलाई अल्पमतमा पार्ने प्रचण्डको खेल असफल बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएकी छन्।
यहि मेसोमा उनले असन्तुष्ट रहेका एमाले नेता माधवकुमार नेपाललाई शीतल निवासमा बोलाएर पार्टी विभाजनबाट जोगाउनका लागि सुझाव दिएकी थिइन्।
यसबाहेक नेपाल समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताले पार्टी विभाजनबाट जोगाउनका लागि ओली पक्षका नेतासँग वार्ता जारी राखेका छन्।
यता ओली समूहबाट महासचिव ईश्वर पोखरेललगायतका नेता पनि सक्रिय हुन थालेका छन्। ‘एमालेभित्रको अन्तरविरोधको समाधान हुनेछ प्रचण्डले जुन प्रयोग गर्न खोजेका छन् त्यो असफल हुनेछ’, ओलीनिकट एक नेताले भने,‘एमाले एक भयो भने प्रचण्ड फेरि असफल हुनेछन्।’
त्यसो त ओलीइतरको समीकरण बनाउनका लागि पहिला एमालेभित्र नेपाल समूहले राजीनामा दिने ग्यारेन्टि हुनुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाहेका छन्। उनले प्रचण्डलाई उक्त विषयको ग्यारेन्टि दिलाउनका लागि भनेका थिए।
सोही विषयमा शुक्रबार साँझ देउवा–प्रचण्ड भेट भएको थियो। ‘एमालेको काँधमा बन्दुक राखेर उसैको सरकार गिराउने खेल सजिलो छैन, पहिला उनीहरु विभाजनमा जाने ग्यारेन्टि हुनुपर्छ’, देउवाले भनेका थिए,‘बोलीले मात्र हुँदैन, कामले देखाउनुपर्छ। अन्यथा हामीले हाल्ने अविश्वासको प्रस्ताव फेल भयो भने ओलीले जित्नेछन्।’
प्रचण्डले माधव नेपालको ग्यारेन्टि लिएका छन्। तर यतिले मात्र खेल सफल हुन नसक्ने अंकगणित देखिन्छ। जनता समाजवादी पार्टीको एउटा कित्ता ओलीको समर्थनमा रहेको स्पष्ट खाका देखिएको छ।
‘एमालेभित्र समस्या समाधानको कुरा आइरहेको छ। जनता समाजवादी पार्टीभित्र विभाजन देखिएको छ। यस्तो अवस्थामा प्रचण्डको चाल कसरी सफल होला?’, एक नेताले भने,‘प्रचण्डलाई सफल हुन नदिन देउवालाई सत्ता छाडेर ओलीले समर्थन गर्न पनि सक्छन्।’

