चार दिनदेखि कारभित्र मृत भेटिएका ३ बालकको शव अस्पतालमा


घोराही – १८ वैशाखमा भारतीय नम्बर प्लेटको कारभित्र मृत अवस्थामा फेला परेका तीन बालकको शब मंगलबारसम्म अस्पतालमै छ। ४ दिन बितिसक्दा पनि अभिभावकले शव बुझ्न नमानेपछि तीन बच्चाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ।

तुलसीपुर उपमहानगरपालिका–६ स्याउलीबजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बच्चाको शव फेला परेको थियो।

उनीहरुको सामुहिक हत्या भएको आशंका गर्दै अभिभावकले सत्यतथ्य पत्ता लगाई सार्वजनिक नगर्दा सम्म शव नबुझ्ने अडान लिँदै आएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले पीडित पक्षसँग बुधवार फेरि क्षतिपूर्ति लगायतका बारेमा छलफल हुने जानकारी दिए।

उक्त छलफलमा पीडित अभिभावकहरु, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, तुलसीपुर नगरका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देवराज विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द सहभागि रहने सिंहले बताए।

उक्त इण्डियन नम्बर प्लेटको कारभित्र तुलसीपुर–६ बरुवाउँ निवासी भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार मृत अवस्थामा फेला परेका थिए।

प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राविधिक झिकाएको थियो भने शवको पोष्टमार्टमका लागि बुटवलबाट बिशषेज्ञ डाक्टर झिकाएको थियो।

यो पनि पढ्नुहोस्…

‘शरीरमा चोट छैन्, गाडीमा निसासिएर मृत्यु भएको वा हत्या गरेको भन्ने खुलेन’

पोष्टमार्टमा रिपोर्टले बालकको कर्तव्य गरि हत्या गरिएको नदेखिएको प्रहरीले जनाएको छ। ‘तीनै जना बालकको शरीरमा कुनै चोटपटक नदेखिएको हुँदा कर्तव्य गरि हत्या गरेको देखिएन भन्ने कुरा चिकित्सकको रिपोर्टमा उल्लेख छ,’ डिएसपी सिंहले भने।

तर, रिपोर्टमा एक जना बालकको टाउकोको पछाडि पट्टीको भागमा सानो टुटुल्को देखिएको भएपनि त्यसले गर्दा मात्रै मृत्यु हुन नसक्ने कुरापनि पोष्टमार्टम रिपोर्टमा उल्लेख रहेको जानकारी डिएसपी सिंहले दिए।

चिकित्सकले त्यो टुटुल्को गाडीभित्र बालक ठोक्किएर पनि लागेको हुनसक्ने सँभावना रिपोर्टमा औंल्याएका छन्।

पोष्टमार्टम रिपोर्टमा चिकित्सकले शव सडी/गलेको हुँदा बिषादी सेवन वा अन्य त्यस्तै कारणले मृत्यु भएको हो/होइन भनेर अनुसन्धान गर्न समस्या भएको सल्लाह अनुसार चिकित्सकको सल्लाहमा भिसेरा परीक्षण गर्न काठमाडौं पठाइएको डिएसपी सिंहले बताए।

मृत्यु भएको २४ घन्टाभन्दा पछाडि बिषादी सेवनलगायतका कारण पत्ता लगाउन नसकिने कुरा चिकित्सकको सल्लाहअनुसार तीन वटै शवहरुको भिसेरा परीक्षणका लागि काठमाडौं पठाउनुपरेको सिंहले जानकारी दिए।

प्रहरीले १८ वैशाखमा घटनाको दोस्रो दिन कारधनी तुलसीपुर–६ स्याउली बजार बस्ने ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ बर्षीय चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरि ज्यान मुद्दा चलाएर अनुसन्धान थालेको छ।

चालक बस्नेत र गाडी धनी गैरेले १ माघमा आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेको हुँदा घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया