

काठमाडौंमा २२ वर्षीया युवतीसहित दुईजना मृत भेटिए

काठमाडौं – काठमाडौंका दुई छुट्टा छुट्टै स्थानमा युवतीसहित २ जना मृत भेटिएका छन्। टोखा नगरपालिका–५ श्रीटोलमा २२ वर्षीय युवती मृत फेला परेकी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त स्थानमा डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिकाकी २२ वर्षीया लक्ष्मी घिमिरे आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्।
उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।
यस्तै काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा बस्दै आएका ५६ वर्षीय छिरिङकुमार लामा सोही ठाउँस्थित टहरामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
दुवैको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

