कोरोनाको डरलाग्दा पूर्वसंकेतका बेला सरकारका काम उत्ताउला र गैरजिम्मेवार थिएः पूर्वमुख्यसचिव पौडेल


काठमाडौं – पूर्वमुख्यसचिव लीलामणी पौडेलले कोरोनाको यस विषम अवस्थामा सरकारले केही उत्ताउला र गैरजिम्मेवार काम गरेको बताएका छन् । पछिल्ला समयमा नेपालमा दैनिक बढ्दै गएको संक्रमितको संख्याका कारण सरकारले बेलैमा सचेत हुनु पर्ने पौडेलले बताएका छन् । पौडेलले कोरोनाको यस विषम परिस्थितिका बारेमा ७ बुँदा प्रस्तुत गरेका छन् ।

पौडेलले सबै राजनीतिक दल, नागरिक समाज, सरकार सबै मिलेर सर्वसाधारणको जीउधन जोगाउने तर्फ अग्रसर हुन समेत माग गरेका छन् ।

पौडेलले प्रस्तुत गरेका ७ बुँदाः

१. भारतमा कोरोना माहामारीको विकराल रूप देखेर जस्तै कठोर मान्छेको मन पनि काँप्छ। मैले ति दर्दनाक तस्वीरहरू यहाँ राख्न समेत सकिन। नेपालका केही स्थानको अवस्था एकदमै पीडादायी छ। यही गतीमा संक्रमण बढेमा हामीले भोग्ने त्रासदी भारतको भन्दा खराव हुनेछ।

२. सरकारले यसो गर उसो गर भनेर आदेश जारी गर्नेमात्र  होइन। उसको उत्तरदायित्व त सबै तहका सरकारी संयन्त्र, राजनैतिक दल, समुदाय र नागरिक समाजलाई विश्वासमा लिएर सबैको परिचालन र समन्वय गरी आफ्ना सबै सामर्थ्य महामारी नियन्त्रमा केन्द्रित गर्ने हो र सबै श्रोत परिचालन गरी जनताको जीउधनको सुरक्षा गर्ने हो।

३. आलोचना नठानियोस्, कोरोना महामारीका डरलाग्दा पूर्वसंकेतका अवस्थामा सरकारका विगत साताका कामहरू उत्ताउला र गैरजिम्मेवार थिए। यो कुनै उपलब्धीको खुसीयाली मनाउने बेला होइन। मन्त्रीजस्तो जिम्मेवार मान्छेले सभा नगर्ने मन्त्रीपरिषदको आफुसमेत सम्लग्न निर्णय राजपत्रमा सुचना प्रकाशित भएपछि लागु हुन्छ भन्दै बैठक लगत्तै ठुलो जमघट गर्नु एउटा उत्तरदायि र सम्वेदनशील सरकारको चरित्र कुनैपनि हालतमा मान्न सकिन्न। सरकार प्रमुख र सरकारका उच्चपदस्थलाई कोरोनाको प्रोटोकल नमानेको आधारमा दण्डजरिवाना गरेका विश्वसमाचार आइरहेको अवस्थामा हामीले त्यही तहको कानुनको शासनको अपेक्षा नगरे पनि सरकारे आफैले गरेको निर्णय आफैले औपचारिक कार्यक्रमै गरेर उलङ्घन गरेको टुलुटुलु हेर्न विवस हुँदा आफूलाई ग्लानी महसुस हुन्

४. नेपालगंजमा स्थानीय सरकारको सामर्थ्य नपुगेको र केन्द्रले नसघाएको अभिब्यक्ति स्थानीय नेतृत्वले टेलिभिजनको पर्दामा भनिरहेको देखेको एक संवेदनशील नागरिकले आफूलाई असहज हुँदा सरकार छु भनेर आस्वस्त हुन सक्दैन र असुरक्षित महसुस गर्छ। काठमाडौंमा सिकिस्त विरामीले पनि अस्पतालमा बेड नपाएका समाचारले आमसर्वसाधारणलाई रोग नलाग्दै भयभित बनाएकोछ। उपचार महंगो भएर विरामी र परिवारका सदस्य थप विरामी हुने अवस्थाका समाचारहरू पिडीत आफैले सार्वजनिक गरिरहेकाछन्। यी सबै ब्यवस्थापनको प्रमुख दायित्व सरकारको हो । यो वा त्यो भनेर सरकार पन्छिन मिल्दैन।

५. महामारीसँग जुध्न हाम्रो जस्तो श्रोतसाधन र क्षमता कम भएको मुलुकका लागि कठीन छ र सरकारले नै सबै गर्न सक्दैन भन्ने एउटा जिम्मेवार नागरिकलाई राम्रै थाहा छ। तर, सक्ने हदैसम्मको प्रयत्न र परिचालन गरियो वा गरिएन र संवेदनशीलता देखाइयो वा देखाइएन भन्ने आँकलन उस्ले गरिरहेको हुन्छ। नागरिकका कठीन घडिमा सरकार के गर्दै थियो र उस्का प्राथमिकता के थिए भन्ने सरकार आफैले सार्वजनिक गरेका सचित्र सुचना बोल्छन् , त्यसलाई कसैले अतिसयोक्ति बनाउन वा प्रतिरक्षा गरिरहनै पर्दैन।

६. राजनैतिक दल, नागरिक समाज र समुदायले पनि सरकारसंगका सबै मतभेद थांती राखेर नागरिकको जीउधन जोगाउने काममा सक्दो सहयोग गर्नुपर्छ। जीवन रहे बाँकी हिसावकिताव गरौंला। यसमा सर्वोपरी जिम्मेवारी सरकार कै हो भने महामारीसंग जुध्न सरकारलाई सघाउनु हरेक नागरिकको कर्तब्य हो।

७. म यस दुखद घडीमा नेपालसहित छिमेकी भारतमा कोरोनाकारण ज्यान गुमाउने सबै दाजुभाइ दिदीबहिनीप्रति हार्दिक समवेदना प्रकट गर्छु र उपचाररत सबैको शीध्र स्वास्थ्य लाभको प्रार्थना गर्दछु। भारत सरकार र भारतीय जनतालाई यो महामारीबाट छिट्टै मुक्ति मिलोस् भन्ने हार्दिक कामना पनि गर्दछु। यस कठीन अवस्थामा आफ्नो ज्यान जोखीममा राखेर अनवरत विरामिको सेवामा जुट्ने सबै स्वास्थ्यकर्मी तथा सहयोगी जनसेवकप्रति हार्दिक नमन गर्दछु। हामीसबै जिम्मेवार बनौं र कामना गरौं कि हामीले यस महामारीबाट कमभन्दा कम क्षतिमा पार पाउने छौं।

प्रतिक्रिया