साउदी उडानमा प्रतिबन्ध लगाएपछि सयौँ भारतीय ठमेलका होटलमा!


काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहरले दिनकै नयाँ रेकर्ड तोडिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ थप ३ लाख ५४ हजार जनामा संक्रमण पुष्टि भएको छ । भने २ हजार ८०० भन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै भारतको नयाँदिल्लीबाट नेपालमा सीधा उडानबाट दैनिक सयौँ भारतीयहरू विनारोकटोक भित्रिरहेका छन् । जसका कारण नेपालमा पनि कोरोना संक्रमणको जोखिम अत्यधिक देखिएको छ ।

नेपाल घुम्न भन्दा पनि भारतबाट साउदीतर्फ सीधा उडान रोकिएपछि भारतीयहरू नेपालको बाटो हुँदै साउदीतर्फ गइरहेका छन् । उनीहरूले नेपालमा क्वारेन्टाइन र स्वास्थ्य मापदण्ड पालना नगरी लापरबाही गर्दा नेपालसमेत उच्च जोखिममा परेको हो । ठमेलका सबैजसो होटेलहरू भारतीयले भरिएका छन् ।

नेपालमा एयरलाइन्ससँगै सडकमार्गबाट आउनेको समेत कुनै तथ्यांक राखिएको छैन । जसका कारण केही दिनमै काठमाडौं पनि ‘हटस्पट’ बन्न सक्ने संकेत देखिएको छ । नेपालमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले दैनिक एक–एक उडान गरिरहेका छन् ।

दुवै उडानमा ८० प्रतिशतभन्दा बढी भारतीयहरूले भरिने गरेको छ । सबै भारतीयलाई क्वारेन्टाइनमा राख्न र होटलबाहिर निस्कन नदिन आग्रह गरेको समेत गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेको छ ।

प्रतिक्रिया