काेराेना महामारीबाट नराम्ररी प्रभावित भएपछि भारतलाई विश्वभरबाट सहयोग


नयाँदिल्ली – कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन्।

भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ। यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ।

युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन्। भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालहरूले बिरामी फर्काउँदैछन्। त्यहाँ लकडाउन लम्ब्याइएको छ।

भारतमा दैनिक करिब साढे तीन लाख थप सङ्क्रमित भेटिएको अनि २७ सय भन्दा धेरैको ज्यान गएको आइतवार जनाइएको छ।

अमेरिका तथा यूकेको कस्तो सहयोग?

अमेरिकामा ह्वाइटहाउसले भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भनेको छ। ‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्‍यो, अहिले हामी भारतलाई मद्दत गर्न दृढ छौँ,’ राष्ट्रपति जो बाइडनले भने।

भारतमा सङ्क्रमण

भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई उसले कच्चा पदार्थमा लगाएको निर्यात नियन्त्रण हटाइदिन भनेपछि अमेरिकाले यस्ता निर्णय गरेको हो। आफूकहाँ अधिक भएका खोप विदेश पठाउन ढिलाइ गरेकोमा पनि वाशिङ्टनको आलोचना भएको छ।

अमेरिकाले भारतलाई मेडिकल तथा सुरक्षा उपकरण पनि पठाउँदैछ। यूकेले पठाएका सहयोग सामग्रीको पहिलो खेप मङ्गलवार त्यहाँ पुग्दैछ। थप सहयोग यसै साता पुग्ने बताइएको छ।

यूकेले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण – जसले हावाबाट अक्सिजन तान्नसक्छ – तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ।

‘यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै खडा छौँ,’ यूकेका प्रधानमन्धी बोरिस जोन्सनले भनेका छन्। सङ्क्रमण तेज भएका कारण जोन्सनको भारत भ्रमण रद्द गरिएको छ तथा भारतमाथि हाल यात्रा प्रतिबन्ध लगाइएको छ।

यूएइ, क्यानडा, जर्मनी तथा नेदर्ल्यान्ड्सले पनि भारतबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन्। यसबीच फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ। साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ।

भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन्।

भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्क्रमणलाई आँधी सरह आएको भनेका छन्।

दोस्रो लहरको सङ्क्रमण रोक्न विफल भएको भन्दै प्रधानमन्त्री मोदीको सरकारको आलोचना भएको छ। भारतमा हालसालै ठूल्ठूला राजनीतिक र्‍याली एवं धार्मिक भेला भएका थिए। बीबीसी

प्रतिक्रिया