इराक कोभिड अस्पताल आगलागी, कम्तीमा २३ जनाको मृत्यु


बगदाद – इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा आगलगाी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ। शनिवार राति खतिब अस्पतालमा शुरू भएको आगलागीमा परेर दर्जनौँ घाइते भएका छन्।

रिपोर्टहरूमा जनाइएअनुसार अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी शुरू भएको हो। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन्।

बिरामीहरूलाई अस्पतालबाट बाहिर निकाल्ने तयारी
आपत्का‌लीन अधिकारीहरूले १२० जना बिरामीमध्ये ९० जनाको उद्धार गरिएको बताएका छन्

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो।

अहिलेसम्म आपत्‌कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन्। अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड-१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ‘३० जना बिरामी आईसीयूमा थिए’।

घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पुर्‍याइएको छ।

1px transparent line

इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतवार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ। सरकारको मानव अधिकार आयोगले उक्त दुर्घटना ‘कोभिड-१९ बाट पीडित बिरामीका लागि यो अपराधको रूपमा आएको छ।’

इराकमा कोरोनाभाइरस फेब्रुअरीयता तीव्र रूपमा बढिरहेको छ र यो हप्ता सम्ममा १० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र १५,२१७ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।

त्यहाँ गत महिनादेखि खोप कार्यक्रम शुरू गरिएको छ र अहिलेसम्म ६ लाख ५० हजार जनालाई खोप दिइएको छ। धेरैजसो खोप विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् आएको छ। बीबीसी

प्रतिक्रिया