

कसरी अन्त्य भयो ओली-नेपालको पुस ५ पछिको संवादहीनता ?

काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । यस सँगै विगत चारमहिना अघिदेखिको संवादहीनता टुंगिएको छ ।
वार्तापछि उनीहरु नागपोखरीस्थित मेरियट होटलबाट बाहिरिए । ओली र नेपालबीच भएको भेटबारे कुनै प्रतिक्रिया सार्वजनिक भने भएको छैन ।
पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा उनीहरुबीच छलफल भएको ठानिएको छ । उनीहरूको यस भेटले देशमा विगत चार महिनादेखि देखिएको अन्याैलता हट्ने अनुमान गरिएको छ ।
गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरुबीच संवाद हुन सकेको थिएन । यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।
पछिल्लो समयमा अध्यक्ष ओलीले नेपाल पक्षका २७ नेताहरुलाई कारबाही गर्नका लागि स्पष्टीकरण पत्र थमाएपछि नेकपाका प्रचार विभाग प्रमुख योगेश भट्टराईको पहलमा आजको भेट सम्भव भएको मानिएको छ ।

