

एकै पटक ७० भन्दा बढी गिद्ध मृत भेटिए, व्यवस्थापन हुन नसक्दा फैलियो दुर्गन्ध

नवलपरासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-४ जितपुरमा विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धको ठूलो संख्यामा मरेका छन् ।
विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु ७० भन्दा बढी एकैपटक मरेको जिल्लामा यो पहिलो पटक हो । मंगलबार बिहान गिद्धहरु मरेको अवस्थामा देखेको स्थानीयले बताएका छन् । तर गिद्धहरु रहेको स्थाननजिक दुईवटा कुकुर मरेको अवस्थामा भेटिएको स्थानीयले बताए ।
डोरीले बाँधेर फालिएका कुकुरहरुलाई विष खुवाएर मारेको हुनसक्ने र त्यही कुकुरको मासु खाएका कारण गिद्धहरु मरेको हुनसक्ने आंशका स्थानीयको छ । तर यकिन जानकारी भने खुल्न बाँकी नै रहेको छ ।
गिद्धहरु कसरी मरे भन्नेबारे अनुसन्धान गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमा नमूना पठाइएको पशु विकास शाखा रामग्राम नगरपालिकाका डा. निरज पासवानले बताए ।
गाउँको पोखरीनजिक खेतहरुमा छरिएका मृत गिद्धहरुको व्यवस्थापन हुन नसक्दा दुर्गन्धसमेत फैलिन थालेको छ ।

