एमालेमा ओली प्रतिवेदनः जुनसुकै बेला निर्वाचन, अन्तिम विनाशअघि नेपाल पक्षलाई यस्तो सुझाव


काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन महाधिवेशन आयोजक समितिले सर्वसम्मतले पारित गरेको छ।

सोमबार बालुवाटारमा भएको बैठकमा उनले प्रतिवेदन पेस गर्दै जुनसुकै बेला निर्वाचन हुन सक्ने उल्लेख गरेका छन्। प्रतिनिधि सभा पुनःस्थापना भए पनि त्यसले काम गर्न नसकेको भन्दै निर्वाचनमा जानुको विकल्प नरहेको प्रतिवेदनमा उल्लेख छ।

उनले पार्टीपंक्तिलाई भने,‘जुनसुकै बेला निर्वाचन हुन सक्छ त्यसका लागि तयार रहनू।’

अहिले केही नेताहरू पार्टी विभाजनतिर सक्रिय रहेको विषय उठान गरेका ओलीले एमाले सुदृढिकरण र शुद्धिकरणको चर्चा गर्दै भनेका छन्,‘विभाजन र अनेक गतिविधिमा लागेकाले अन्तिम विनाश हुनुअघि आत्मसमिक्षा र आत्मालोचना गरी माफी मागेर पार्टीमा काम गर्दा हुनेछ।’

पार्टीलाई सर्वोच्च अदालतले कानुनी रुपमा अलग गरे पनि राजनीतिक रुपमा पहिला एकताबद्ध नभएको उल्लेख गरिएको प्रतिवेदनमा भनिएको छ,‘एकीकरणपछि विभाजनका निम्ति विभिन्न प्रकारका हत्कण्डा गरियो, खासमा राजनीतिक र सांगठनिक रुपमा पार्टी एकीकृत थिएन।’

प्रतिक्रिया