

उत्पादनमा ४० प्रतिशतले ह्रास आउँदा पून: बढ्यो कुखुराको मासुको मूल्य

काठमाडौं – पछिल्लो समय काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको मुल्यले आकाश छोएको छ । हाल उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा ४३० रुपैयाँ पुगेको छ ।
आइतबार बेलुकीबाट लागू भएको जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
देशभरमा सबैभन्दा धेरै कुखुराको मासु खपत हुने सहर काठमाडौंलाई दैनिक साढे दुई लाख किलो तयारी मासुको आवश्यकता पर्दछ । सोही अनुसार बढेको मासुको मूल्य हालसम्मकै सबैभन्दा धेरै भएको महासंघका सचिव देवकुमार गिरीले बताए । संघको आइतबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्य बढेको सचिव गिरीले बताए । जिउँदो कुखुराको भाउ बढ्नुको असर तयारी मासुमा पनि परेको संघले जनाएको छ ।
तयारी मासुको कोल्ड स्टोर थोक मूल्य बढेसँगै खुद्रामा मासुको भाउ प्रतिकिलोमा ४५० रुपैयाँसम्म पुगेको हुनसक्ने संघले जनाएको छ । यस अघिको लकडाउनका कारण मझौला तथा साना कुखुरा पालक किसान व्यवसायबाट विस्थापित हुँदा कुखुराको उत्पादन घटेको अनुमान छ ।
यस अघि देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवं खपत हुँदै आएपनि अहिले उत्पादनमा ४० प्रतिशतसम्मले ह्रास आएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको दाबी छ ।

