एमालेले बोलायो स्थायी समिति बैठक, विद्या भण्डारी पनि सहभागी हुने


काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पहिलो बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

बैठकमा पहिलोपटक वरिष्ठ नेताका रुपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन्। एमाले केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप ७ जनालाई मनोनीत गरेको थियो।

यस्तै बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेताका रुपमा मनोनयन गरेको थियो। मनोनयनपछि बोलाइएको पहिलो बैठकमा भण्डारीको सहभागिता हुन लागेको हो। २०७२ साल कातिक ११ देखि २०७९ साल फागुन २९ सम्म दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी पार्टीको बैठकमा सहभागी हुन लागेकी हुन्।

स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली,काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे रहने भएका छन्।

बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारीबारे निर्णय गर्ने भएको छ। त्यसअन्तर्गत केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चसहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लाग्ने आचार्यले बताए।

प्रतिक्रिया