सई र असईसहित यी ९ प्रहरीलाई हेडक्वाटरको ७ दिने ताकेता


काठमाडाैं – प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका सई र असईसहित ९ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
सूचनाअनुसार सई शुक्रबहादुर महतो, असई खर्ग बहादुर गुरुङ, सहायक हवल्दार रोशन राई, सुरेश नेपाली, जवान मोहन भण्डारी, कल्पना रानामगर, राजेन्द्र विश्वकर्मा, सुमन चौधरी र टोपलाल चौधरी रहेका छन् ।
प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएपछि प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको जनाएको छ। तोकिएको अवधिभित्र हाजिर नभए प्रहरी नियमावलीका नियम ११३ र १०९ बमोजिम सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।
गैरहाजिर ९ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

प्रतिक्रिया