काठमाडौंमा गुन्डागर्दीविरुद्ध प्रहरीको आक्रामक अभियान : १,८७१ जनाको गोप्य प्रोफाइल तयार


काठमाडौं – काठमाडौं प्रहरी परिसरले राजधानीमा संगठित अपराध तथा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राख्दै गुन्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न १,८७१ जनाको विस्तृत प्रोफाइल तयार गरेको छ। प्रहरीका अनुसार यो सूची सार्वजनिक गरिएको छैन, किनकि अनुसन्धान तथा अपराध नियन्त्रणका लागि यसलाई गोप्य रूपमा राखिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, यस सूचीमा काठमाडौंमा मात्र नभई विभिन्न जिल्लाबाट राजधानीलाई आधार इलाका बनाएर सक्रिय रहेका व्यक्तिहरूको विवरण समेटिएको छ। विशेषगरी काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटलगायत क्षेत्रबाट काठमाडौं आएर गुन्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा रहेका व्यक्तिहरूको प्रोफाइल प्रहरीले तयार पारेको हो।

प्रहरीका अनुसार यो सूचीको उद्देश्य कुनै व्यक्तिलाई पूर्वाग्रही रूपमा दोषी ठहर गर्नु होइन। बरु, सूचीमा रहेका व्यक्तिहरू भविष्यमा कुनै गुन्डागर्दी वा आपराधिक घटनामा संलग्न देखिए वा अनुसन्धानको क्रममा जोडिएमा तत्काल पहिचान गरी नियन्त्रणमा लिन सहज होस् भन्ने उद्देश्यले प्रोफाइल तयार गरिएको हो।

प्रहरीको बुझाइमा पछिल्ला केही वर्षयता काठमाडौंमा गुन्डागर्दीको स्वरूप फेरिएको छ। पहिलेजस्तो खुला रूपमा समूह बनाएर शक्ति प्रदर्शन गर्ने शैली कम हुँदै गएको भए पनि अहिले मिटरब्याज, जुवा–तास सञ्चालन, आर्थिक असुली, ठेक्कापट्टामा प्रभाव जमाउने तथा विभिन्न अवैध आर्थिक गतिविधिमार्फत नयाँ शैलीको गुन्डागर्दी बढ्दै गएको छ।

प्रहरीले अर्को महत्त्वपूर्ण पक्ष पनि औँल्याएको छ। विगतमा चर्चित रहेका धेरै गुन्डा नाइकेहरू अहिले राजनीतिमा सक्रिय भएका छन् वा सार्वजनिक जीवनमा प्रवेश गरेका छन्। तर उनीहरूको नेटवर्कमा रहेका सहयोगी, आसेपासे तथा नयाँ पुस्ताका समूहहरूले भने स्वरूप परिवर्तन गरेर अझै पनि आपराधिक गतिविधि सञ्चालन गरिरहेको प्रहरीको निष्कर्ष छ।

यही अवस्थालाई मध्यनजर गर्दै काठमाडौं प्रहरी परिसरले यस्ता समूहको गतिविधिमाथि निगरानी बढाएको, उनीहरूको विस्तृत विवरण संकलन गरेको तथा आवश्यक पर्दा कानुनी कारबाहीका लागि तयारी अवस्थामा रहेको जनाएको छ। प्रहरीका अनुसार संगठित अपराधको सञ्जाल कमजोर पार्ने र राजधानीलाई सुरक्षित बनाउने उद्देश्यले यो अभियानलाई थप प्रभावकारी बनाइनेछ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत काठमाडौं प्रहरी परिसरले गुन्डागर्दी नियन्त्रणमा आफूहरू आक्रामक रूपमा अघि बढेको स्पष्ट पार्दै, अपराधको स्वरूप जति परिवर्तन भए पनि कानुनी कारबाहीबाट कसैलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरेको छ। राजधानीमा शान्ति–सुरक्षा कायम राख्न प्रहरीको निगरानी, सूचना संकलन र अनुसन्धानलाई अझ प्रभावकारी बनाइने पनि जनाएको छ।

प्रतिक्रिया