
देउवाका भतिजाले गरे कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।
उनले धनगढी उपमहानगरपालिका–४ बाट क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्।
केही समयदेखि अमेरिका रहेका सांसद देउवाले अनलाइनमार्फत आवेदन दिएर सदस्यता अद्यावधिक प्रक्रिया पूरा गरेका हुन्। उनको सदस्यता अद्यावधिक भएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ।
नेपाली कांग्रेसले गत पुससम्म नवीकरण र नयाँ सदस्यता लिएकाहरूको विवरण संकलन गरी क्रियाशील सदस्यता अद्यावधिक गरिरहेको छ। पार्टीले वैशाख १ देखि जेठ २८ गते मध्यरातसम्मको समयसीमा तोकेर अद्यावधिक प्रक्रिया सञ्चालन गरेको थियो।
यद्यपि निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालगायतले क्रियाशील अद्यावधिक नगर्न अपिल गरे पनि उनीहरू निकटका धेरै नेता–कार्यकर्ताहरूले प्रक्रिया अघि बढाएका छन्।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू आगामी १५ औं महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट गरेको छ।



कागजपत्र |
