नेपाल आउने पर्यटकको खर्चभन्दा विदेश जाने नेपालीको खर्च २.३९ गुणा बढी


काठमाडौं-  नेपाल घुम्न आउने विदेशी पर्यटकले देशभित्र गरेको खर्चभन्दा नेपालीले विदेश जाँदा गरेको खर्च करिब २.३९ गुणा बढी देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा विदेशी पर्यटकले नेपालमा ७४ अर्ब १८ करोड रुपैयाँ खर्च गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले कमी हो। अघिल्लो वर्षको पहिलो १० महिनामा पर्यटकले नेपालमा ७५ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेका थिए।

त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाली नागरिक विदेश जाँदा १ खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँ देशबाट बाहिरिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ खर्ब ८४ अर्ब २२ करोड रुपैयाँ थियो, जसअनुसार ३.४ प्रतिशतले कमी आएको छ।

तथ्यांकअनुसार नेपालीले विदेश जाँदा गर्ने खर्च नेपाल भित्रिने पर्यटन आम्दानीभन्दा धेरै गुणा बढी देखिएको छ।

राष्ट्र बैंकका अनुसार विदेश जाने नेपालीमध्ये ठूलो हिस्सा अध्ययनका लागि जाने विद्यार्थीमार्फत मात्रै १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ विदेशिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १ खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ थियो।

प्रतिक्रिया