
ललितपुरमा नाबालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा स्पा सञ्चालिका पक्राउ
काठमाडौं- ललितपुरको सानेपास्थित एक स्पा सेन्टरबाट नाबालिकालाई उद्धार गर्दै प्रहरीले सञ्चालिकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरेको छ।
प्रहरीका अनुसार सानेपाको अरुण थापा चोकमा सञ्चालित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका सुमन थापा मगर भनिने सुमन कुमाललाई पक्राउ गरिएको हो। गोरखाको सिरानचोक गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएकी कुमालमाथि स्पामा कार्यरत एक नाबालिकालाई प्रलोभनमा पारेर अनैतिक कार्यमा संलग्न गराएको आरोप लागेको छ।
स्पामा सेवा लिन आउने ग्राहकहरूको मागअनुसार ती नाबालिकालाई जबरजस्ती अनैतिक गतिविधिमा संलग्न गराइएको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोलीले उक्त स्पा सेन्टरमा छापा मारेको थियो। छापाका क्रममा नाबालिकालाई उद्धार गरिएको र सञ्चालिका कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी कुमालमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
