
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
ललितपुर- ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको सरकारी स्कोर्पियो गाडी चोरी भएको छ।
बा.२ झ १८७८ नम्बरको उक्त स्कोर्पियो गएराति ललितपुरको दुरीखेलस्थित चालकको घरबाहिर पार्किङ गरेर राखिएको अवस्थामा चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार गाडी राति १० बजेदेखि बिहान ६ बजेको बीचमा चोरी भएको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चोरले चालकको घरबाट गाडीको चाबी चोरी गरेपछि स्कोर्पियो लिएर फरार भएको देखिएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा गाडीको खोजतलासका लागि प्रहरी टोली परिचालन गरिएको छ।



कागजपत्र |
