सेयर बजारमा सामान्य सुधार, नेप्से २.६६ अंक बढेर २७८० विन्दुमा


काठमाडौं-  अघिल्लो कारोबार दिन २२.२१ अंकले बढेको सेयर बजार बुधबार भने सामान्य सुधारमा सीमित भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६६ अंकले बढेर २७८० विन्दुमा पुगेको छ।

दिनभर बजारमा सामान्य उतारचढाव देखिएको थियो। कारोबार भएका कम्पनीमध्ये १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ५ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ५ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

अघिल्लो दिन फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो। उक्त समूह मंगलबार करिब ६ प्रतिशतले बढेको थियो। बुधबार भने निर्जीवन बीमा समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ। यो समूह ३.३७ प्रतिशतले उकालो लागेसँगै वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ।

सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत तेस्रो पक्षको बीमांक रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ। यसले निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षाका कारण पनि लगानीकर्ताको आकर्षण बढेको विश्लेषण गरिएको छ।

बुधबार जीवन बीमा समूह १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत तथा विकास बैंक समूह ०.६६ प्रतिशतले बढेका छन्।

यता, अन्य समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ। व्यापार समूह ०.२४ प्रतिशत, लगानी ०.२० प्रतिशत, जलविद्युत् ०.११ प्रतिशत, फाइनान्स १.१६ प्रतिशत तथा बैंकिङ समूह ०.१३ प्रतिशतले ओरालो लागेको छ।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै एसबीएल डिबेन्चर (२०८४) को मूल्य १४.९३ प्रतिशत, विजय लघुवित्तको ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावरको ७.०५ प्रतिशत तथा नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशतले वृद्धि भएको छ।

यसदिन नेपाल पुनर्बीमाको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्स ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स ३.३९ प्रतिशत तथा त्रिशूली जलविद्युत्को सेयर मूल्य पनि ३.३९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर सबैभन्दा बढी कारोबार भएका कम्पनीमा परेका छन्।

प्रतिक्रिया