बालेनको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने दाबीको प्रमाण सार्वजनिक गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिको तथ्यगत आधार प्रस्तुत गर्न आग्रह गरेका हुन्। उनले प्रमाण प्रस्तुत गर्न नसकिए प्रधानमन्त्रीको उक्त भनाइ संसदीय अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अनुरोधसमेत गरे।

“प्रधानमन्त्रीले तथ्यबिना दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइनुपर्छ,” शाहीले बैठकमा भने।

उनले नेपाल–भारत सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई सामान्य रूपमा लिन नमिल्ने बताए। “यो चिया पसलमा गरिएको गफजस्तो सामान्य विषय होइन,” उनले भने, “यस्तो विषयमा बोल्दा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्छ।”

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले भारतले मात्र नभई नेपालले पनि भारतका केही स्थानमा भूमि मिचेको विषय आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए।

प्रतिक्रिया