‘नेपालले भारतको भूमि मिचेको’ दाबी प्रमाणित गर्न कांग्रेसकाे चुनौती


काठमाडौं-  नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने दाबीको तथ्य २४ घण्टाभित्र सार्वजनिक गर्न अल्टिमेटम दिएको छ।

सोमबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिबारे स्पष्ट जानकारी दिन माग गरेका हुन्।

सांसद कर्णले प्रधानमन्त्रीले नेपालले भारतको केही भूमि मिचेको बताएका कारण त्यसको प्रमाण र विवरण सार्वजनिक गर्नुपर्ने बताए। उनले २४ घण्टाभित्र तथ्य प्रस्तुत गर्न नसके प्रधानमन्त्रीले नेपाली जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने धारणा राखे।

“प्रधानमन्त्रीज्यूले नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा भूमि मिचेको छ भन्ने विषय स्पष्ट रूपमा जानकारी गराउनुपर्छ,” कर्णले भने, “यदि त्यसको तथ्य उपलब्ध गराउन सक्नुहुन्न भने जनतासँग माफी माग्नुपर्छ।”

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले भारतले मात्र नभई नेपालले पनि भारतका केही स्थानमा भूमि मिचेको विषय आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ।

कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिको सत्यता छानबिन गर्न संसदीय वा उच्चस्तरीय समिति गठन गर्नसमेत माग गरेको छ।

प्रतिक्रिया