
डडेल्धुरामा सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता
डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।
प्रहरीका अनुसार शुक्रबारदेखि उनीहरू सम्पर्कविहीन भएका हुन्। बेपत्ता दुवै जना आपसमा मामाभान्जा नाता पर्ने बताइएको छ।
महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ। घटनापछि सुरक्षा निकायले उनीहरूको खोजी कार्यलाई तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिए। उनका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा खोजतलास भइरहेको छ।



कागजपत्र |
