रोममा मोदी र मेलोनीको केमेस्ट्री, सामाजिक सञ्जालमा चर्चा


रोम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीचको आत्मीय सम्बन्ध यतिबेला अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ ।

कारमा सँगै यात्रा गरेको, डिनर भेटघाट गरेको तथा उपहार आदानप्रदान गरेका दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेका छन् ।

प्रधानमन्त्री मेलोनीले मोदीबाट प्राप्त विशेष उपहारप्रति सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै मजाकिया शैलीमा भारतको चर्चित ‘मेलोडी’ टफी आफूलाई उपहारस्वरूप प्राप्त भएको उल्लेख गरेकी छन् ।

‘प्रधानमन्त्री मोदी मेरो लागि निकै राम्रो टफी मेलोडी लिएर आउनुभएको थियो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रधानमन्त्री मोदीले भने डिनर भेटका क्रममा विश्व राजनीति, द्विपक्षीय सम्बन्ध तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिएका छन् । भेटपछि दुवै नेताले रोमको ऐतिहासिक कोलोसियमको संयुक्त भ्रमणसमेत गरेका थिए ।

मोदी रोम पुगेपछि मेलोनीले ‘मेरो साथी, रोममा स्वागत छ’ भन्दै सामाजिक सञ्जालमार्फत स्वागत गरेकी थिइन् ।

यसैबीच, दुवै नेताले भारत–इटाली सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वाकांक्षी रणनीतिक मार्गचित्रसमेत सार्वजनिक गरेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित ‘इटाली एन्ड इन्डिया : ए स्ट्राटेजिक पार्टनरशिप फर द इन्डो–मेडिटेरेनियन’ शीर्षकको संयुक्त लेखमा दुवै देशबीचको सम्बन्धलाई ‘विशेष रणनीतिक साझेदारी’ को संज्ञा दिइएको छ ।

संयुक्त लेखमा भारत र इटालीबीचको सम्बन्ध मित्रताभन्दा माथि उठेर स्वतन्त्रता, लोकतन्त्र र साझा भविष्यको दृष्टिकोणमा आधारित साझेदारी बनेको उल्लेख गरिएको छ ।

दुवै नेताले इन्डो–प्रशान्त र भूमध्यसागरीय क्षेत्रलाई जोड्ने नयाँ भूराजनीतिक संरचनामा भारत–इटाली सहकार्य महत्वपूर्ण हुने बताएका छन् । व्यापार, ऊर्जा, प्रविधि, तथ्यांक, रक्षा, अन्तरिक्ष, स्वच्छ ऊर्जा, औषधि उत्पादन, कपडा उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गरिने उल्लेख छ ।

भारत र इटालीले सन् २०२९ सम्म द्विपक्षीय व्यापार २० अर्ब युरोभन्दा माथि पुर्‍याउने लक्ष्यसमेत तय गरेका छन् ।

प्रतिक्रिया