
दार्चुलाका प्रधानाध्यापक धामी मृत्यु प्रकरणमा ८ जना पक्राउ
दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी मृत फेला परेको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुन गाउँपालिका–२ घर भएका ४६ वर्षीय धामी सोमबार बिहान करिब ५ः३० बजे विद्यालयकै आवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
घटनापछि स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थल सिल गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले घटनालाई आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ ।
प्रहरीले दार्चुला जिल्ला अदालतबाट १० दिन हिरासतमा राख्ने अनुमति लिएर ८ जनामाथि अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ पर्नेमा विक्रम सिंह कुँवर, दलिदत्त भट्ट, खिमानन्द भट्ट, परमानन्द भट्ट, पदमराज भट्ट, नरेन्द्र दत्त भट्ट, हरिदत्त भट्ट र पुष्करराज भट्ट रहेका छन् ।
प्रहरीका अनुसार मृत भेटिनुअघि धामीले फेसबुकमा लामो स्टाटस लेखेका थिए । उक्त स्टाटसमा उनले आफूलाई मानसिक तनाव, अपमान र झुटा आरोपमार्फत आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेका छन् ।
धामीले २०७७ सालमा सम्पाल माविमा सरुवा भएर आएपछि विद्यालयलाई नमुना बनाउने उद्देश्यले विभिन्न सुधारका काम गरेको उल्लेख गरेका छन् । उनले विद्यालय भवन निर्माण, पुस्तकालय, आईसीटी प्रयोगशाला, स्मार्ट बोर्ड, बालमैत्री शौचालय, विज्ञान तथा कृषि प्रयोगशाला, हरित विद्यालय निर्माण, निःशुल्क पोशाक वितरण तथा अतिरिक्त कक्षा सञ्चालनलगायतका काम गरेको बताएका छन् ।
उनले केही शिक्षक, स्थानीय व्यक्ति तथा ठेकेदारले आफूविरुद्ध षड्यन्त्र गरेको, चरित्रहत्या गरिएको र बलात्कारजस्तो गम्भीर आरोपमा फसाउने प्रयास भएको आरोप पनि लगाएका छन् ।
स्टाटसमा उनले केही व्यक्तिको नाम र फोन नम्बरसमेत सार्वजनिक गर्दै आफू डिप्रेसनमा पुगेको र आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । साथै परिवारलाई डीएनए परीक्षणमार्फत सत्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
उनले आफ्नी पत्नी, छोराछोरी, आफन्त तथा शुभचिन्तकलाई भावुक सन्देश लेख्दै आफ्नो मृत्युपछि न्यायका लागि लड्न अनुरोध गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले सामाजिक सञ्जालमा सार्वजनिक स्टाटसलाई समेत अनुसन्धानको आधार बनाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए ।



कागजपत्र |
