भैरहवा मालपोतका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाँचाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार ऋण श्रेस्ता कायम गर्ने, अपुताली जग्गा नामसारी तथा दाखिल खारेजजस्ता काम गरिदिने क्रममा सेवाग्राहीसँग घुस माग तथा मोलमोलाइ गरी रकम लिएको आरोप उनीमाथि लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गर्दै आयोगले दुई लाख रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद र जरिवानाको मागदाबी गरेको जनाएको छ ।

यसअघि अख्तियारको टोलीले उनलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया