जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको आग्रह


काठमाडौं-  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भदौ २३ र २४ गते भएको भनिएको नरसंहार र विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसके पनि सरकारले अझै सार्वजनिक नगरेकोप्रति आपत्ति जनाए।

केसीले उक्त प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन सरकारलाई आग्रह गरे। उनले संसदमा भने, “आयोगको प्रतिवेदन बुझाइसकिएको छ तर अझै सार्वजनिक गरिएको छैन। त्यसलाई तत्काल सार्वजनिक गरी माननीय सदस्यहरूलाई उपलब्ध गराइयोस्।”

उनका अनुसार आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा पनि ढिलाइ भएको भन्दै उनले सरकारलाई जवाफदेही बन्न आग्रह गरे।

सांसद केसीले यस्ता महत्वपूर्ण आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्ने प्रक्रियामा सरकारले ढिलाइ गर्न नहुने बताए।

प्रतिक्रिया