
कञ्चनपुरमा श्रीमानको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमती नियन्त्रणमा
कञ्चनपुर- कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। दोधाराचाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिरेन्द्र थापाका अनुसार सोमबार बिहान सुनारको शव घरमै भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा उनको घाँटीमा धारिलो हतियारले गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ।
घटनापछि मृतककी श्रीमती यशोदा सुनारले आफैं प्रहरीलाई खबर गरेकी थिइन्। घरभित्र श्रीमानको हत्या भएको अवस्थामा देखेपछि उनले बिहानै प्रहरीलाई जानकारी गराएकी हुन्।
प्रहरीका अनुसार घटनास्थलबाट धारिलो चक्कु बरामद गरिएको छ। प्रारम्भिक विवरणअनुसार घरमा मृतक दम्पती मात्रै बस्दै आएको खुलेको छ।
प्रहरीले मृतककी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



कागजपत्र |
