देउवा पक्षको बागमती भेला: पूर्ण महासमिति बैठक बोलाउन माग


काठमाडौं – नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत्तर एकता र पुनर्जागरणका लागि तत्काल पूर्ण महासमिति बैठक बोलाउन माग गरेको छ।

भेलाले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वले गरेका स्वेच्छाचारी निर्णय, कारबाही तथा एकलौटी मनोनयन तत्काल रोक्न चेतावनीसमेत दिएको छ।

विदेशमा उपचाररत निवर्तमान सभापति देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भेलाले पार्टीभित्र कानुनी विधि र प्रक्रिया पूरा नगरी गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै विधिको शासन सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

पार्टीभित्रको आन्तरिक संकट समाधान गर्दै आगामी राजनीतिक दिशा तय गर्न शीघ्र पूर्ण महासमिति बैठक आवश्यक रहेको भेलाको मुख्य माग छ। १५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष र सर्वस्वीकार्य बनाउन सबै पक्षको सहभागिता सुनिश्चित हुने गरी सहमतिको साझा संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिइएको छ।

राष्ट्रिय सभामा दलको नेता परिवर्तनबारे उठेका प्रश्नको पारदर्शी रूपमा स्पष्टिकरण दिनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराइएको छ। भ्रातृ तथा शुभेच्छुक संस्थालाई तदर्थवादमा अल्झाउने प्रवृत्ति अन्त्य गरी नियमित महाधिवेशनमार्फत नेतृत्व चयन गर्नुपर्ने मागसमेत गरिएको छ।

हालैको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भोगेको पराजयको निर्मम समीक्षा गर्नुपर्ने भेलाको निष्कर्ष छ। निर्वाचनअघि भएको आन्तरिक विभाजन नै हारको प्रमुख कारण भएको भन्दै अनुशासनका नाममा भइरहेका कारबाही तुरुन्त रोक्न पनि माग गरिएको छ।

पार्टी सदस्यता अद्यावधिक र विधान संशोधन प्रक्रियामा पारदर्शिता हुनुपर्ने भन्दै मनोमानी गतिविधि अस्वीकार गरिएको छ।

भेलाले सरकारका गतिविधिलाई पनि कडा आलोचना गरेको छ। संसद् प्रक्रियालाई बेवास्ता गर्दै अध्यादेशमार्फत कानुन निर्माण गर्ने, न्यायालयमाथि नियन्त्रण गर्न खोज्ने र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाइएको छ।

त्यस्तै सम्पत्ति छानबिन आयोगका नाममा राजनीतिक दल, संवैधानिक निकाय, सुरक्षा निकाय र निजी क्षेत्रलाई त्रसित बनाउने काम भइरहेको भन्दै यसलाई अधिनायकवादी प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरिएको छ। सुकुमबासी तथा भूमिहीनको व्यवस्थापनबिना डोजर चलाउने प्रवृत्ति रोक्न पनि सरकारसँग माग गरिएको छ।

प्रतिक्रिया