नक्कली भौचर बनाएर अस्पतालको ३८ लाख हिनामिना, बैंक कर्मचारीसहित ५ जना पक्राउ


काठमाडौं- कपिलवस्तुको शिवराज नगरपालिका–स्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्री गरेर संकलन गरिएको रकम बैंकमा जम्मा नगरी अपचलन गरिएको उजुरीपछि अनुसन्धान सुरु गरिएको हो। शिवराज नगरपालिकाले २०८३ वैशाख ४ गते अस्पतालको आर्थिक कारोबारमा अनियमितता भएको भन्दै छानबिनको माग गरेपछि घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा अस्पतालबाट उठेको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्ने प्रक्रियामै गम्भीर शंका देखिएको थियो। प्रहरीले विभिन्न मितिका १२९ वटा भौचरमार्फत कुल ३८ लाख १९ हजार ७७० रुपैयाँ बैंकमा जम्मा गरिएको देखाइए पनि वास्तविक रूपमा उक्त रकम खातामा नपुगेको जनाएको छ।

लेखापरीक्षणका क्रममा फाइलमा बैंक भौचरहरू भेटिए पनि सो बराबरको रकम बैंक खातामा जम्मा नभएको खुलेपछि घटना बाहिर आएको हो। यस सम्बन्धमा शिवराज नगरपालिका–५ का वडा अध्यक्ष तथा अस्पताल सञ्चालन एवं व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा प्रहरीले सरकारी अस्पतालको नक्कली भौचर तयार गरी संगठित रूपमा ठगी तथा आपराधिक विश्वासघात गरिएको आरोपमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमलप्रसाद भण्डारी, अस्पतालकी फार्मेसी सहायक ३७ वर्षीया रुक्सना खातुन तथा बैंकका कर्मचारी ३५ वर्षीय विक्रम केसी रहेका छन्।

प्रहरीले पक्राउ परेकामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया