
प्रधानमन्त्रीको अनुपस्थितिबारे सभामुखले गर्ने भए संवाद
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा लगातार अनुपस्थित रहेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने बताएका छन्।
बुधबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै सदनमा उपस्थित हुनुपर्ने माग गरेका थिए।
आङ्देम्बेले कांग्रेससहितका प्रतिपक्षी दलहरूले सभामुखको आग्रह र शालीनतालाई सम्मान गर्दै नीति तथा कार्यक्रम टेबल गर्न दिएको उल्लेख गर्दै अब भने प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान राखे।
उनले भने, ‘हामीले नीति तथा कार्यक्रम टेबल गर्न दिएका छौँ। सभामुखको शालीनता देखेर यो निर्णय गरेका हौँ। तर अब यसमाथिको छलफलका क्रममा प्रधानमन्त्री आउनुपर्छ। प्रधानमन्त्री नआएसम्म छलफल अघि बढ्न सक्दैन।’
प्रतिपक्षीको उक्त मागपछि सभामुख अर्यालले तत्काल रुलिङ गर्नुभन्दा पहिले प्रधानमन्त्रीको अवस्था बुझ्ने बताए।
‘मैले यहाँबाट रुलिङ गर्नेभन्दा एक पटक प्रधानमन्त्रीको अवस्था बुझ्न संवाद गर्न जाँदैछु। बैठकपछि उहाँलाई भेटेर कुरा गर्छु,’ सभामुख अर्यालले भने, ‘उहाँको अवस्था बुझिसकेपछि आवश्यक निर्णय लिइनेछ। अहिले रुलिङतर्फ जानुभन्दा पहिले प्रधानमन्त्रीको अवस्था बुझेर अघि बढौँला।’
सभामुखले संसद्लाई देश–विदेशबाट चासोका साथ हेरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइसकेको अवस्थामा नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउन प्रतिपक्षी दलहरूलाई आग्रहसमेत गरे।



कागजपत्र |
