सिरहाका दुई गोलीकाण्डमा भारतीय सुटर प्रयोग भएको खुलासा


काठमाडौं-  सिरहामा भएका दुई फरक गोलीकाण्डमा भारतीय सुटर प्रयोग गरिएको खुलासा भएपछि प्रहरीले घटनालाई संगठित सुपारी अपराधको रूपमा अनुसन्धान अघि बढाएको छ। लामो अनुसन्धानपछि दुवै घटनाको जड पारिवारिक रिसइबी रहेको र हत्या तथा हत्या प्रयासका लागि पैसा दिएर भारतीय नागरिक परिचालन गरिएको तथ्य सार्वजनिक भएको हो।

गत माघ १६ गते सिरहा नगरपालिका–७ मा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१ निवासी ५२ वर्षीय उपेन्द्र यादवलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उपेन्द्रले पुरानो पारिवारिक विवादको बदला लिन भारतीय सुटरसँग ३ लाख रुपैयाँमा सम्झौता गरेका थिए। अनुसन्धानबाट हत्याका लागि १ लाख रुपैयाँ अग्रिम रकम दिइएको र बाँकी २ लाख रुपैयाँ काम सम्पन्न भएपछि दिने सहमति भएको खुलेको प्रहरीले जनाएको छ। हाल उपेन्द्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

यस्तै, माघ ४ गते औरही गाउँपालिका–५ मा श्यामसुन्दर शर्मामाथि भएको गोली प्रहारमा पनि भारतीय सुटरकै प्रयोग भएको खुलेको छ। जितिया मन्दिरमा सुतिरहेका बेला झ्यालबाट गोली प्रहार हुँदा शर्माको टाउकोमा चोट लागेको थियो।

प्रहरी अनुसन्धानअनुसार स्थानीय ५५ वर्षीय हरि ठाकुरले ५० हजार रुपैयाँ सुपारी दिएर शर्मामाथि आक्रमण गराएको पाइएको छ। यो घटनाको कारण पनि पारिवारिक विवाद रहेको प्रहरीको दाबी छ। घाइते शर्माको विराटनगरमा उपचारपछि अवस्था सामान्य रहेको बताइएको छ।

सिरहाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार दुवै घटनामा संलग्न भारतीय सुटर तथा नेपाली योजनाकारलाई जोड्ने अन्य व्यक्तिहरूको पहिचान भइसकेको छ। उनीहरूको खोजीका लागि सीमावर्ती क्षेत्र तथा भारततर्फसमेत प्रहरी सक्रिय रूपमा परिचालित भएको उनले बताए।

प्रतिक्रिया