संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने


काठमाडौं- संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सोमबार अपराह्न ४ बजे सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेसम्म उपस्थित भइसक्न संसद् सचिवालयले अनुरोध गरेको छ ।

यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने तथा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचना सदनलाई जानकारी गराइनेछ ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

संसद् सचिवालयका अनुसार सरकारले जारी गरेका विभिन्न आठ अध्यादेश पनि संसद्मा पेस गरिनेछन् । तीमध्ये ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायतका अध्यादेश रहेका छन् ।

उक्त अध्यादेशहरू प्रतिनिधिसभासँगै राष्ट्रियसभाको बैठकमा पनि पेस गरिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया