
मधेशमा कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने चार दलको निर्णय
जनकपुरधाम- मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय सत्तारुढ चार दलले गरेका छन् । आइतबार बसेको चार दलको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिलाउने सहमति गरेको हो ।
जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश सरकारको भविष्यबारे चासो बढिरहेका बेला नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले यथाशीघ्र प्रदेशसभाबाट विश्वासको मत लिने जानकारी दिएका छन् ।
जनमत पार्टीले गत वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रदेश सरकारको समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका बेला सत्तारुढ चार दलले कांग्रेस नेतृत्वको सरकारलाई कायम राख्ने स्पष्ट निर्णय गरेका हुन् ।




कागजपत्र |
