सल्यानमा ट्याक्टर दुर्घटना, १७ वर्षीय चालकको मृत्यु


सुर्खेत-  सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दार्मा गाउँपालिका–२ निवासी १७ वर्षीय ट्याक्टर चालक प्रदीप विकको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब साढे १ बजे दार्मा गाउँपालिका–२ को भुसखोलास्थित भित्री सडकखण्डमा फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका चालक प्रदीपलाई उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी पुर्‍याइएको भए पनि उपचारकै क्रममा दिउँसो १:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी सोही स्थानका १७ वर्षीय टेकबहादुर विक र २२ वर्षीय विशाल विक घाइते भएका छन् । टेकबहादुरको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको र स्वास्थ्य चौकीमै प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, विशाल विकको दायाँ हातमा चोट लागेको तथा अवस्था मध्यम रहेकाले थप उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख हेमबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया