अफ्रिकानजिकै रोकिएको डच क्रुजमा हान्टाभाइरस फैलियो, तीन जनाको मृत्यु


काठमाडौँ- डच क्रुज जहाज ‘एमभी होन्डियस’ मा फैलिएको हान्टाभाइरस संक्रमणले विश्व स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको छ । अफ्रिकाको पश्चिमी तट नजिक केप भर्डे क्षेत्रमा लंगरमा रोकिएको उक्त जहाजमा हाल १४९ जना यात्रु तथा चालक दलका सदस्य फसेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जहाजमा फैलिएको संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा एक डच दम्पती र एक जर्मन नागरिक रहेका छन् । गम्भीर अवस्थामा रहेका एक यात्रुलाई उपचारका लागि दक्षिण अफ्रिका पठाइएको बताइएको छ भने अन्य संक्रमितको निगरानी तथा उपचार भइरहेको छ ।

ओशनवाइड एक्सपिडिसन कम्पनीद्वारा सञ्चालित उक्त जहाजमा दुई भारतीय चालक दलका सदस्य समेत रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको यात्रु तथा चालक दलको राष्ट्रियता सूचीमा २३ देशका नागरिक रहेको उल्लेख छ । यद्यपि ती भारतीय सदस्यहरूको नाम र स्वास्थ्य अवस्थाबारे जानकारी दिइएको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र स्थानीय स्वास्थ्य निकायहरूले घटनालाई गम्भीर रूपमा लिएर निगरानी बढाएका छन् । जहाजमा रहेका सबैलाई आइसोलेसनमा बस्न तथा विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ ।

डब्ल्यूएचओले क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, न्यूजिल्याण्ड, सेन्ट किट्स एन्ड नेभिस, सिंगापुर, स्वीडेन, स्विजरल्याण्ड, टर्की, बेलायत र अमेरिका गरी १२ देशमा सतर्कता सूचना जारी गरेको छ ।

ती देशका केही नागरिकहरू यात्राको सुरुआतमा दक्षिण एट्लान्टिक महासागरस्थित ब्रिटिस क्षेत्र सेन्ट हेलेनामा ओर्लिएको बताइएको छ । विभिन्न देशमा यात्रु तथा उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण जारी रहेकाले थप संक्रमित भेटिन सक्ने आकलन गरिएको छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सार्वजनिक स्वास्थ्यसम्बन्धी आवश्यक कदम तत्काल लागू गरिएको र संक्रमणको फैलावट सीमित रहने अपेक्षा गरिएको बताएका छन् ।

प्रतिक्रिया