
जनता तर्साएर घर भत्काउने काम बन्द गरियोस् : नैनसिंह महर
डडेल्धुरा- नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले जनता त्रसित बनाउने गरी घर भत्काउने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले देशका लागि जमिन र जनता दुवै उत्तिकै आवश्यक भए पनि सरकार जनजीविकाप्रति गैरजिम्मेवार र असंवेदनशील बन्दै गएको आरोप लगाए ।
महरले संसद् अधिवेशनबाट भागेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिले संसदीय सर्वोच्चतामाथि प्रहार गरेको टिप्पणी गरे । उनले कार्यपालिकाबाट न्यायालयको स्वतन्त्रता र परम्परामाथि अंकुश लगाउने प्रयास भइरहेको भन्दै यसले विधिको शासन नै धरापमा पर्ने खतरा बढाएको बताए ।
सहकारी ठगी प्रकरणबारे बोल्दै उनले लाखौं बचतकर्ताको पसिनाको कमाइ डुबेको अवस्थामा सरकार मूकदर्शक बन्न नहुने बताए । उनले समस्या समाधानका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।
मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बनेको उल्लेख गर्दै उनले सुकुम्बासी बस्तीमा सुत्केरी महिलामाथि भएको व्यवहारले सरकारको असंवेदनशीलता उजागर गरेको बताए ।
गृहजिल्ला डडेल्धुराको विकासबारे बोल्दै महरले आगामी आर्थिक वर्षको बजेटमा जिल्लाका ‘ड्रिम प्रोजेक्ट’लाई प्राथमिकतामा राख्न तीनै तहका सरकारसँग आग्रह गरे । उनले डडेल्धुरा विमानस्थल निर्माण, मेडिकल कलेजको शीघ्र विकास तथा पश्चिम सेती र पञ्चेश्वरजस्ता बहुउद्देश्यीय आयोजनाको द्रुत कार्यान्वयनमा जोड दिए ।
गत वर्ष डडेल्धुराका लागि विनियोजित बजेटमध्ये २ अर्ब रुपैयाँभन्दा बढी कटौती गरिएको उल्लेख गर्दै उनले उक्त रकम पुनः विनियोजन गर्न र आगामी बजेटमा पनि कटौती नगर्न सरकारलाई आग्रह गरे ।
स्थानीय समस्याप्रति ध्यानाकर्षण गराउँदै महरले जिल्लाका ५२ वटै वडामा बाँदर, बँदेललगायत वन्यजन्तुको आतंक नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने बताए । साथै, ज्यानमारा बनेका ग्रामीण सडकको स्तरोन्नति, अस्पताल व्यवस्थापन सुधार, जीर्ण खानेपानी आयोजनाको पुनर्निर्माण तथा युवामुखी प्राविधिक शिक्षाको विस्तार आवश्यक रहेको उनको भनाइ थियो ।
उनले कृषि र पर्यटनको विकासमार्फत जिल्लामा रोजगारी सिर्जना गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाली कांग्रेसको आन्तरिक राजनीतिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महरले आफू गुटबन्दीभन्दा माथि उठेर एकताबद्ध, गतिशील र रूपान्तरित कांग्रेस निर्माणको पक्षमा रहेको बताए । उनले लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको रक्षामा कांग्रेस अझ सशक्त रूपमा उभिनुपर्ने धारणा राखे ।
अन्त्यमा महरले डडेल्धुरावासी र सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै आफू सधैं जनता र सिंहदरबारबीचको बलियो पुल बनेर काम गर्ने प्रतिबद्धता जनाए ।



कागजपत्र |
