
कालीमाटी बजारको रायो सागमा ५५ प्रतिशतभन्दा बढी विषादी
काठमाडौं – मुलुककै प्रमुख कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । परीक्षणका क्रममा उक्त साग उपभोगका लागि अयोग्य भएको निष्कर्ष निकालिएको हो ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी बजारका १३ वटा पसलबाट संकलित १३ प्रकारका तरकारी तथा फलफूलको नमूना परीक्षण गरेको थियो । सोही परीक्षण क्रममा रायो सागमा अत्यधिक विषादी भेटिएको हो ।
समितिका अनुसार विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिन्छ । रायो सागमा भेटिएको मात्रा उक्त सीमाभन्दा निकै माथि रहेकाले उपभोग नगर्न आग्रह गरिएको छ ।
सरकारी मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएमा उपभोगयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर मात्र उपभोग गर्न सकिन्छ । तर ४५ प्रतिशतभन्दा बढी भए पूर्ण रूपमा असुरक्षित मानिन्छ ।
समितिले उपभोक्तालाई तरकारी खरिद गर्दा सतर्क रहन आग्रह गर्दै नियमित रूपमा बजारमा आउने कृषि उपजको परीक्षण भइरहेको जनाएको छ ।



कागजपत्र |
