‘कुलकै बदनाम गर्‍यो’ भनेका सुदनलाई हर्क साम्पाङले भित्राए पार्टीमा


काठमाडौं – दुई वर्षअघि सामाजिक सञ्जालमार्फत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमाथि आक्रामक रूपमा खनिएका हर्क साम्पाङ अहिले उनै किराँतीसँग राजनीतिक एकताको सहमतिमा पुगेका छन् ।

पूर्व धरान उपमहानगरपालिकाका मेयर तथा हाल श्रम संस्कृति पार्टीका अध्यक्षरहेका साम्पाङ र पूर्वमन्त्री किराँतीबीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति भएको हो । विभिन्न चरणमा भएको छलफलपछि गएराति एकताको टुंगो लागेको बताइएको छ । सहमति अनुसार किराँतीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरिएको छ ।

किराँती यसअघि नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता गरी नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि उनी जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका थिए । तर, गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि उनले प्रलोपाको साधारण सदस्यता समेत त्यागेका थिए ।

तर अहिलेको राजनीतिक सहकार्यले दुई वर्षअघिको हर्क–सुदन विवादलाई फेरि चर्चामा ल्याएको छ ।

२ वर्षअघि धरानमा विमानस्थल निर्माणको विषयलाई लिएर हर्क साम्पाङले तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीविरुद्ध सार्वजनिक रूपमा तीखा अभिव्यक्ति दिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण दीर्घकालीन रूपमा सम्भव नरहेको निष्कर्ष सार्वजनिक गरेपछि साम्पाङ लगातार सामाजिक सञ्जालमा किराँतीमाथि खनिएका थिए ।

त्यतिबेला उनले किराँतीलाई लक्षित गर्दै “कुलकै बदनामी”, “कुलले धिक्कार्ने काम” जस्ता टिप्पणी गरेका थिए । मन्त्री किराँतीले मन्त्रालयमै पोचा लगाएको भिडियो सार्वजनिक भएपछि साम्पाङले “मन्त्री कि पोचा लाउने कुचीकार ?” भन्दै व्यंग्यसमेत गरेका थिए । उनले लेखेका थिए, ‘सुदन किराँती मन्त्री नै हुन् कि पोचा लाउने कुचीकार ? खोइ त प्राधिकरणलाई तह लगाको ? कुलको बदनामी ।’

साम्पाङले त्यतिबेला “तेरो नियम संशोधन गरेर भए पनि विमानस्थल बनाउनेछौँ” भन्दै चेतावनीपूर्ण स्टाटस लेखेका थिए भने किराँतीमाथि “राज्यको ढुकुटीको सत्यानाश मात्रै गरेको” आरोप पनि लगाएका थिए । साम्पाङले लेखेका थिए ,‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ । ज्यादा नखोक् । संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु‘

त्यो बेला हर्कको अभिव्यक्तिको चौतर्फी चर्चा भएको थियो । किराँती पक्षले भने साम्पाङलाई “आवेगमा बगेको” टिप्पणी गरेको थियो ।

प्रतिक्रिया