
श्रीमतीको हत्या गर्ने सेनाका जवानलाई जन्मकैद
काठमाडौं- श्रीमतीलाई योजनाबद्ध रूपमा जंगलमा लगेर हत्या गरेको अभियोगमा पक्राउ परेका नेपाली सेनाका एक जवानलाई जिल्ला अदालत सुर्खेतले जन्मकैदको फैसला सुनाएको छ।
बुधबार जिल्ला न्यायाधीश बसन्तराज जोशीको इजलासले २८ वर्षीय दर्शन खत्रीलाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाउँदै पीडितका आफन्तलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।
खत्री नेपाली सेनाको वीरदल गण, पाँचथरमा पिउठ पदमा कार्यरत थिए। उनले गत वैशाख २१ गते आफ्नी २६ वर्षीया श्रीमती प्रेमा वली खत्रीलाई छलपूर्वक बोलाएर सुर्खेतको जंगलमा लगेर हत्या गरेका थिए।
प्रेमा गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा पाँच वर्षीया छोरीसहित बस्दै आएकी थिइन्। उनको माइती घर पनि सोही वडाको तोरीबारीमा रहेको थियो। दर्शन र प्रेमाबीच सात वर्षअघि प्रेम विवाह भएको भए पनि पछिल्लो समय शंका–उपशंकाका कारण सम्बन्धमा चिसोपना बढ्दै गएको थियो।
हत्या गरेपछि दर्शन सुर्खेतकै एक होटलमा गई आफ्नो झोला राखेर गाडी चढी गुर्भाकोटस्थित घर फर्किएका थिए र सोही रात घरमै बसेका थिए।
अर्को दिन वैशाख २२ गते जंगलमा घाँस काट्न गएका स्थानीयले प्रेमाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान खुलेपछि प्रहरीले दर्शनको खोजी सुरु गरेको थियो। उनी बिदामा घर आएको थाहा पाएपछि प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले अपराध स्वीकारेका थिए।
प्रहरीले घटनास्थलबाट ढुंगा प्रहारपछि बगेको रगत, घिसारिएको चिन्ह र जंगलमा फालिएको प्रेमाको मोबाइलसमेत बरामद गरेको थियो।



कागजपत्र |
