
‘ई–जीपी’ ह्याक प्रकरणमा ७० वर्षीय व्यवसायी गौली पनि पक्राउ
काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कासम्बन्धी गोप्य विवरण हेरफेर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार पुरानो बानेश्वरबाट आशिष निर्माण सेवा प्रालिका सञ्चालक ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरेको हो ।
चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौंको मण्डिखाटार बस्दै आएका गौलीले ई–जीपी प्रणाली ह्याक गरी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै डकुमेन्ट परिवर्तन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।
यस प्रकरणमा हालसम्म १० जना निर्माण व्यवसायीसहित अन्य तीन जना गरी १३ जना पक्राउ परिसकेका छन् । सार्वजनिक खरिद प्रक्रियाको निष्पक्षतामाथि नै असर पर्ने गरी डिजिटल प्रणालीमा हस्तक्षेप गरिएको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रारम्भमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको भए पनि घटनाको गम्भीरता र संलग्नहरूको सञ्जाललाई ध्यानमा राख्दै अहिले ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत समेत अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजीका साथै प्रणालीमा भएको क्षतिको विस्तृत प्राविधिक अनुसन्धान जारी राखेको जनाएको छ ।



कागजपत्र |
