अष्ट्रेलियामा अवतरणका क्रममा विमान दुर्घटना, २ को मृत्यु, ११ जना घाइते


क्यानबेरा– दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित पाराफिल्ड विमानस्थलमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

स्थानीय मिडियाका अनुसार दुर्घटनामा पाइलट र एक यात्रुको ज्यान गएको हो। अन्य ११ घाइतेलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनापछि आपतकालीन सेवाले तत्काल उद्धार कार्य सुरु गरेको थियो। सुरक्षाका कारण आसपासको क्षेत्र खाली गराइएको थियो।

एक घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ भने अन्य घाइतेहरू सामान्यदेखि मध्यम चोटसहित उपचाररत छन्।

विमान उडानको केही समयपछि नै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको र त्यसपछि विमान दुर्घटनाग्रस्त भएको विमानस्थलका प्रमुख निरीक्षक एन्ड्र्यू म्याक्र्याकेनलाई उद्धृत गर्दै एबीसी न्यूजले जनाएको छ।

दुर्घटनापछि आगलागी हुँदा नजिकै बाक्लो कालो धुवाँ फैलिएको थियो। अग्नि नियन्त्रक सेवाले स्थानीय बासिन्दालाई सावधानी अपनाउँदै घरभित्रै बस्न आग्रह गरेको छ।

अष्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया