
पुरातत्व विभागका इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठसहित दुई जनाविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध दुई छुट्टाछुट्टै मुद्दा दायर गरेको हो। मुद्दा दायर हुनेमा श्रेष्ठसँगै पुरातत्व विभागकी सहायक पथप्रदर्शक देउकला अधिकारी पनि रहेकी छन्।
आयोगका अनुसार उनीहरूविरुद्ध कुल ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो कायम गरिएको छ।
अनुसन्धानका क्रममा निर्माण सेवाका एक ठेक्का पाएको जेभी कम्पनीका सञ्चालक तथा सम्बद्ध व्यक्तिहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको खातामा घुस रकम जम्मा भएको पाइएको आयोगले जनाएको छ।
त्यसैगरी, सो घुस रकममध्येबाट दुवै जनाले संयुक्त रूपमा सम्पत्ति खरिद गरेको पनि अनुसन्धानबाट खुलेको छ।
आयोगका प्रवक्ता सुरेश अधिकारीका अनुसार ६४ करोड २१ लाख ८९ हजार ६०३ रुपैयाँको ठेक्कासम्बन्धी परियोजनाबाट पटक–पटक गरी करिब ४ करोड २२ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको छ।
सो घुस रकमबाट जग्गा, सुन खरिद तथा विभिन्न व्यक्तिलाई भुक्तानी गरी गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण गर्ने र हस्तान्तरण गर्ने कार्य भएको भन्दै सम्पत्ति शुद्धीकरण अन्तर्गत पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
दुवै अभियुक्तविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी अलग–अलग मुद्दा विशेष अदालतमा दर्ता गरिएको हो।



कागजपत्र |
