अवैध केरा रोकिँदा बजारमा हाहाकार, प्रतिदर्जन ३५० रुपैयाँसम्म


काठमाडौं- नेपाली बजारमा केरा अभाव चुलिँदै गएको छ। भारतीय नाकाबाट अवैध रूपमा भित्रिने केरा व्यवसायीहरूले नै बहिष्कार गरेपछि बजारमा आपूर्ति एकाएक घट्दा ‘केरा संकट’ देखिएको हो।

व्यवसायीहरूका अनुसार आन्तरिक उत्पादन कमजोर रहँदा अवैध आयात रोकिनासाथ बजारमा अभाव देखिएको हो। साथै, अवैध रूपमा भित्रिने केरा जनस्वास्थ्यका दृष्टिले समेत जोखिमपूर्ण भएकाले त्यसको बिक्री बन्द गरिएको उनीहरूको भनाइ छ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार हाल बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको हो। केही महिनाअघि सम्म भारतबाट ठूलो मात्रामा अवैध केरा भित्रिँदा बजार सन्तुलित देखिए पनि संघकै पहलमा त्यस्तो केरा रोकिएपछि आपूर्ति घटेर बजार खालीजस्तै बनेको उनले बताए।

उनका अनुसार अहिले गुणस्तरीय केराको अभाव हुँदा केही स्थानमा प्रतिदर्जन ३ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ। विशेषगरी होटल तथा रेस्टुरेन्टहरूले गुणस्तरीय केरा नपाउँदा जति मूल्य परे पनि किन्न बाध्य भएको उनको भनाइ छ।

बानियाँले सीमामा कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनका नाममा बजारमा प्रवेश गर्ने गरेको उल्लेख गर्दै अब त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए। “अवैध केरा रोकिएपछि एकाएक बजार खाली भयो, किनभने हाम्रो उत्पादन नगण्य छ,” उनले भने।

यता किसानहरूले भने आफूहरूले ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमा केरा बिक्रीका लागि पठाउने गरेको दाबी गर्दै बीचका व्यापारीले मूल्य बढाएको आरोप लगाएका छन्। तर बानियाँले उक्त आरोप अस्वीकार गर्दै बजारमा उपलब्ध धेरैजसो नेपाली केरा गुणस्तरहीन हुँदा उपभोक्ताले नकिन्ने र त्यसले खुद्रा व्यापारीसमेत प्रभावित भएको बताए।

उनका अनुसार किसानले उत्पादनसँगै ग्रेडिङ र प्याकेजिङमा ध्यान नदिँदा बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको छ। सरकारले ८० प्रतिशत आत्मनिर्भरता दाबी गरे पनि वास्तविक उत्पादन करिब ३० प्रतिशत हाराहारी मात्र रहेको उनले दाबी गरे।

बानियाँले उत्पादन वृद्धि र आयात व्यवस्थापनका लागि दीर्घकालीन नीति आवश्यक रहेको औंल्याउँदै किसान र व्यवसायीबीच समन्वय अभाव रहेको गुनासो गरे। “राज्यले किसान र व्यवसायीलाई नङ–मासुजस्तो बनाउनु पर्नेमा उल्टै दूरी बढाएको छ,” उनले भने।

उनले व्यवसायीका समस्या सुनुवाइमा सरकार उदासीन रहेको भन्दै कृषि मन्त्रीसँग भेटका लागि समयसमेत नपाएको गुनासो गरे।

प्रतिक्रिया