

सभामुखले पाए मध्यराती नै प्रदेश सभा अधिवेशन अन्त्यको पत्र, एमाले सत्ता तत्काल कायम

काठमाडौं– प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राती मध्यरातमा प्रदेश सभाको अधिवेशन रोक्न सभामुखलाई पत्र पठाएपछि गण्डकी प्रदेश सरकारको आयु केही दिन लम्बिएको छ।
विहीबार प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादीको तयारी थियो। राष्ट्रिय जनमोर्चा समेतले अविश्वासको प्रस्तावमा सहयोग गर्ने सहमति बनेपछि गुरुङको सरकार ढल्ने चरणमा थियो।
सरकारको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सभामुख नेत्रनाथ अधिकारीलाई अधिवेशन अन्त्यका लागि पत्र पठाएका थिए। ‘सरकार जोगाउनका लागि अधिवेशन अन्त्य गरिएको छ। जसका कारण अविश्वासको प्रस्ताव दर्ता भए पनि प्रस्तुत नहुने भएको छ’, स्रोतले भन्यो।

