
औषधीको अनाधिकृत मूल्यवृद्धिको विषयमा सांसद खत्रीको ध्यानाकर्षण
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनधिकृत मूल्यवृद्धिका कारण नेपाली जनताले बर्सेनि अर्बौँको भार खेप्नुपरेको भन्दै यसमा संलग्नमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन् ।
संसद्मा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्राण्डका औषधिको मूल्य बढाएको महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् ।
प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा विभागले नयाँ दर्ता तथा नवीकरण गर्दा १ सय ९० वटा ब्राण्डका औषधिमध्ये ८८ वटामा करिब ३४ प्रतिशतसम्म मूल्यवृद्धि गरेको पाइएको छ । यसरी बढाइएको मूल्य सम्बन्धित देशले तोकेको मूल्यभन्दा पनि बढी रहेको खत्रीले उल्लेख गरे ।
औषधि ऐन, २०३५ अनुसार कुनैपनि औषधिको मूल्य तोक्न वा वृद्धि गर्न औषधि मूल्य अनुगमन समितिले परामर्श परिषद्लाई सिफारिस गर्नुपर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशित हुनुपर्ने कानुनी व्यवस्था छ । तर महानिर्देशकले यी सबै प्रक्रिया मिचेर मूल्य बढाएको उनको आरोप छ । उनले यस विषयमा चार वर्षअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि अनुसन्धानको नाममा ढिलासुस्ती भइरहेकोमा आपत्ति जनाए ।
उनले भने ‘यो कुनै बनिबनाऊ आरोप होइन, महालेखा परीक्षकको प्रतिवेदनमार्फत उद्घाटित भएको कुरा हो । २०७८ सालमा विभिन्न सातवटा विदेशी कम्पनीका औषधिमा २६.८८ प्रतिशतदेखि ३३.९९ प्रतिशतसम्म आफूखुसी मूल्यवृद्धि गरिएको छ । २०७४ यता औषधिको नाममा कति लुट मच्चाइयो होला रु यो आठ वर्षमा चार हजारभन्दा बढी औषधिको मूल्यवृद्धि र खपतलाई हिसाब गर्ने हो भने यो अर्बौँको घोटाला हो ।’
स्वास्थ्य मन्त्रालयको अध्ययनले बिरामीको सबैभन्दा बढी खर्च औषधिमै हुने देखाएको उल्लेख गर्दै उनले महँगो स्वास्थ्य सेवाका कारण मध्यम वर्ग गरिब र गरिब उपचार नै नपाएर मृत्युवरण गर्ने अवस्थामा पुगेको बताए । उनले सभामुखमार्फत सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँदै ‘कालोधन्दा’ रोक्न र दोषीमाथि कारबाही गर्न माग गरे ।



कागजपत्र |
