
नेपालका सात परियोजनाका लागि भारतको ४७.३ करोड सहयोग
काठमाडौं- भारतले नेपालमा सञ्चालन हुने सात वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि ४७.३ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र लक्षित ती परियोजनाहरूका सम्बन्धमा बिहीबार नेपाल र भारतका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । काठमाडौंस्थित भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच सम्झौता सम्पन्न गरिएको छ ।
परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा कोल्ड स्टोर निर्माण गरिनेछ । त्यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेनागृह निर्माण हुने छ ।
कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालय भवन, रौतहटको परोहा नगरपालिका–४ मा बर्थिङ सेन्टर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालय भवन तथा बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालय भवन निर्माण गरिने योजना रहेको छ ।
यी आयोजना सम्बन्धित स्थानीय तह र सरकारी निकायमार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । सन् २००३ यता भारतले नेपालमा यस्ता ५९८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ, जसमा ५०६ वटा सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा रहेका छन् ।
दूतावासका अनुसार यी परियोजनाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक पूर्वाधार सुदृढ गर्दै नेपालमा विकास र समृद्धिलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।



कागजपत्र |
