
१० वर्षदेखिकाे अधुरो सडक बनाउन माग राख्दै बोलन्या थलीको ‘लास आन्दोलन’
कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सडक निर्माणमा भइरहेको ढिलाइको विरोधमा ‘लास आन्दोलन’ गरिएको छ ।
दैजी–लिप्ना–जोगबुढा सडकखण्डको निर्माण कार्य लामो समयदेखि अलपत्र परेको भन्दै ‘बोलन्या थली’ले मुख्यमन्त्री कार्यालय अगाडि सांकेतिक विरोधस्वरूप लास प्रदर्शन गरेको हो ।
संस्थाका संयोजक यादव जोशीका अनुसार करिब १० वर्षदेखि निर्माण सम्पन्न हुन नसकेको उक्त सडक तत्काल अघि बढाउन दबाब दिन आन्दोलन गरिएको हो । उनले ठेक्का पाएको निर्माण कम्पनी नार्गाजुन कन्स्ट्रक्सनले काममा ढिलाइ गरेको आरोप लगाए ।

कञ्चनपुरको दैजीदेखि डडेल्धुराको सिमाना लिप्नासम्मको करिब १२ किलोमिटर सडक निर्माणका लागि २०७४ वैशाख ८ गते २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७६ साउन ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम पूरा हुन सकेको छैन ।
पाँच पटकसम्म म्याद थप गरिए पनि प्रगति नदेखिएको र पछिल्लो पटक थपिएको म्याद पनि गत असारमै सकिएको आन्दोलनकारीहरूको भनाइ छ ।



कागजपत्र |
