वीर अस्पतालमा कडाइ: ढिलो आए आधा दिन बिदा


काठमाडौं- वीर अस्पताल व्यवस्थापन समितिले कर्मचारीको हाजिरी व्यवस्थापनमा कडाइ गर्दै ढिलो उपस्थित हुनेलाई आधा दिन बिदा मानिने व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।

समितिको निर्णयअनुसार कार्यालय समयमा ढिलो आउने कर्मचारीले अनिवार्य रूपमा सम्बन्धित विभागलाई जानकारी गराउनुपर्नेछ । यस्तै, कुनै कारणले अनुपस्थित हुनुपरे इन्चार्जमार्फत प्रशासनलाई जानकारी दिन निर्देशन दिइएको छ ।

अस्पतालले नयाँ कार्यालय समय पनि प्रस्ताव गरेको छ । आगामी वैशाख १ गतेदेखि बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कार्यालय समय रहनेछ भने कात्तिक १५ देखि माघ १५ सम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म कायम गरिनेछ ।

अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार व्यवस्थापन समितिको बैठकले सेवा प्रवाह सुधार, अनुशासन कायम र व्यवस्थापन सुदृढीकरणका लागि १४ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

यसअन्तर्गत अस्पतालमा सरसफाइ तथा अनुशासन सुधार गर्न ‘क्लिनिलेन्स अडिट’ र ‘अटेन्डेन्स अडिट’ समिति गठन गरिएको छ ।

त्यसैगरी, ‘ओटी’, ‘क्याथ ल्याब’ तथा बेलुकी सत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिएको छ ।

डा. शर्माका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि तय गरिएको शासकीय सुधार मार्गचित्र कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने निर्णय समेत गरिएको छ ।

 

प्रतिक्रिया